गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय

प्रादेशिक रोग नियन्त्रण केन्द्र

गण्डकी प्रदेश, पोखरा, नेपाल

निर्देशकको सन्देश


प्रादेशिक रोग नियन्त्रण केन्द्र, पोखरा, कास्कीको वेबसाइटमार्फत यहाँका कार्यक्रम, सेवा, गतिविधि तथा शाखागत कार्यसम्पादन सम्बन्धी जानकारी सार्वजनिक गर्न पाउँदा हामीलाई अत्यन्त खुशी लागेको छ । यस वेबसाइटको मुख्य उद्देश्य प्रादेशिक रोग नियन्त्रण केन्द्रका उद्देश्य, विभिन्न शाखाहरू तथा तिनका कार्यक्षेत्र, प्रयोगशाला सेवा, रोग निगरानी तथा नियन्त्रण कार्यक्रम, क्षयरोग उपचार सेवा, गुणस्तर नियमन तथा प्रशासनिक गतिविधिसँग सम्बन्धित सम्पूर्ण जानकारी सरल, स्पष्ट तथा विश्वसनीय रूपमा उपलब्ध गराउनु हो ।

प्रादेशिक रोग नियन्त्रण केन्द्र, गण्डकी प्रदेश अन्तर्गत जनस्वास्थ्य प्रयोगशाला तथा रोग उपचार एवं नियन्त्रण सम्बन्धी सेवाहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै प्रदेशस्तरीय रिफरेन्स केन्द्रको रूपमा कार्य गरिरहेको छ । यस केन्द्रमार्फत सर्ने तथा नसर्ने रोगहरूको परीक्षण, निदान, निगरानी, अनुसन्धान, उपचार, गुणस्तर सुनिश्चितता तथा महामारी नियन्त्रण सम्बन्धी विविध सेवाहरू प्रवाह भइरहेका छन् । साथै, रोग निगरानी प्रणालीलाई थप सुदृढ बनाउँदै प्रदेशभित्र स्वास्थ्य सुरक्षा तथा जनस्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिएको छ ।

यस वेबसाइटमार्फत कार्यालयबाट प्रकाशित प्रतिवेदन, सूचना, प्रकाशन, तालिम तथा कार्यक्रम सम्बन्धी जानकारी, रोग निगरानी बुलेटिन तथा अन्य सञ्चार सामग्रीहरू सहज रूपमा उपलब्ध गराइएको छ । भविष्यमा यस वेबसाइटलाई अझ बढी जानकारीमूलक, प्रविधिमैत्री तथा अन्तरक्रियात्मक बनाउँदै सुविधा सम्पन्न स्रोत केन्द्र (Resource Center) को रूपमा विकास गर्ने हाम्रो लक्ष्य रहेको छ ।

प्रदेशमा स्वास्थ्य जोखिम न्यूनीकरण, महामारी तयारी तथा जनस्वास्थ्य सुरक्षालाई सुदृढ बनाउन सबै निकायबीच समन्वय, सहकार्य र सूचना आदानप्रदान अत्यन्त आवश्यक रहेको छ । त्यसैले यस वेबसाइटलाई अझ प्रभावकारी, उपयोगी तथा सेवामुखी बनाउन यहाँहरूको रचनात्मक सुझाव तथा प्रतिक्रिया महत्वपूर्ण रहनेछ । यदि यहाँहरूसँग कुनै सुझाव, जिज्ञासा वा प्रतिक्रिया भएमा कृपया वेबसाइटको Feedback Section मार्फत आफ्नो बहुमूल्य सुझाव प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं । यहाँहरूको सुझावले हाम्रो सेवा प्रवाहलाई अझ प्रभावकारी, गुणस्तरीय तथा नागरिकमैत्री बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिएका छौँ ।

धन्यवाद ।

निर्देशक


82